आशामा अञ्जना र महेश

काठमाडौं । उडान स्टुडियोको लगानीमा नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको घोषणा गरिएको हो । शर्मिला थापाको निर्माण रहने फिल्ममा राजिव गुरुङको निर्देशन हुनेछ ।

११ जना बटुकहरूद्वारा स्वस्तिशान्ति वाचन गर्दै घोषणा गरिएको फिल्ममा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मकी निर्मात्री थापाले एउटा परिवारको कथालाई पर्दामा ल्याउन लागिएको बताइन् । उनले फिल्मको बारेमा आगामी दिनमा विस्तृत जानकारी दिने बताइन । निर्देशकसँगै कथाकार रहेका राजिव गुरुङले फिल्मले मनोरन्जनसँगै दिने संदेश महत्वपूर्ण रहेको बताए । उनले फिल्मलाई मनदेखि नै तयार गर्न लागिएको बताए ।

अभिनेता महेश त्रिपाठीले फिल्मको विषयले आकर्षित गरेर फिल्ममा जोडिएको बताए । कार्यक्रममा विसं २०४६ सालमा प्रदर्शन भएको फिल्म ’अन्याय’ मार्फत भेषभूषामा काम गरेका प्राविधिक कमल मिश्रलाई नगद राशी ५१ हजारसहित दोसल्ला ओढाएर फिल्मकी निर्मात्री थापा, निर्देशक गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रुपमा सम्मान गरे ।

फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।

यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।