आ बाट आमा २ को क्रोएसिया प्रदर्शन अधिकार बिक्री

काठमाडौँ । आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्म प्रदर्शन हुनु अगावै क्रोएसियाका लागि नेप इन्टरटेन्मेन्ट र जाग्रेबस्थित बुद्ध मार्टले यसको प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

फिल्मका निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका फिल्म वितरकबीच प्रदर्शन अधिकारका लागि औपचारिक कागजी सम्झौता भइसकेको छ।

यसअघि नै यो फिल्मको प्रदर्शन अधिकार अमेरिका, क्यानडा र जापान लगायतका देशहरूमा ‘सोल्ड आउट’ भइसकेको छ । चन्द्र पन्तकै कथा तथा पटकथा रहेको यो फिल्म आगामी असोज ३० गते बडादसैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ।

आर्य पन्तको प्रस्तुतिमा बनेको यस फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत (गजनीका भिलेन), मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट,दिलिप अखेडा र नरेन खड्कालगायतको अभिनय छ ।