वान्तु र ढुंगेललाई दीर्घ साधना सम्मान

काठमाडौं । नेपाली भाषा, साहित्य, संगीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका स्रष्टाद्वय अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड(२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ । हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करणमा गीतसंगीत साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्‍याएको दीर्घकालीन योगदानको कदरस्वरूप उनीहरूलाई दीर्घसाधना सम्मान अर्पण गर्न लागिएको अवार्ड संयोजक गीता अधिकारीले बताइन् ।

सिक्किममा जन्मिएका हरि ढुंगेल नेपाली साहित्य, अभिनय तथा सामाजिक सेवामा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन् । सरकारी सेवाबाट अवकाशपछि उनी साहित्य सिर्जना, सांस्कृतिक गतिविधि र सामाजिक सेवामा निरन्तर समर्पित रहँदै आएका छन् । उनका ‘हिमशिखा’, ‘मेरो जिन्दगी’, ‘अमृत वर्षा’, ‘यात्रा अमेरिकाको’ र ‘हिमालदेखि सागरसम्म’लगायत कविता, कथा, गीत र नियात्रासम्बन्धी सात कृति प्रकाशित छन् । ढुंगेल नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हुन् । उनले विभिन्न नाटक, चलचित्र तथा वृत्तचित्रमा अभिनय गर्दै आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरेका छन् ।

उनका गीतमध्ये ‘मन्दिरमा दीप जल्यो सम्झेँ तिमीलाई’, ‘आज म धेरै खुलेछु’, ‘टुटेको विश्वास जोडिन्न भन्थे’, ‘गीत गुञ्जियो बैंश छरियो’, ‘लाग्यो लौ लाग्यो’, ‘के गरें मैले यो दुनियामा’, ‘शंकालु नजर धेरै छन्’, ‘एकदिनको भेटमा माया बस्यो’, ‘कहाँ पुग्छ र माया’, ‘इन्साफ खोज्न म आएको होइन’, ‘गाउँछौँ हामी मादलको तालमा’, ‘यो नाम्ची शहरमा’, ‘तिम्रो दिलको कोठाभरि’, ‘मैच्याङको मन त रमायो’, ‘जालहारीको जाल हो कि मायाको सञ्जाल’, ‘म त हराई सकेँ’, ‘धेरै साँच्न मन लाग्यो’लगायत गीत विशेष चर्चामा छन् ।

यस्तै, भोजपुरमा जन्मिएका गीतकार अमर वान्तु नेपाली गीतसाहित्यका स्थापित नाम हो । बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्ने वान्तु परिवारकै सांगीतिक वातावरणमा हुर्किएका हुन् । भोजपुरको दिल्पा अन्नपूर्ण विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि धनकुटा कलेजमा अध्ययन गरेका उनी गीतकार बन्ने सपना बोकेर विसं २०४५ मा काठमाडौं आएका थिए । त्यसयता उनले नेपाली सांगीतिक क्षेत्रमा १५० भन्दा बढी गीत सिर्जना गरिसकेका छन् ।

उनका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) कृति तथा ‘अमर भावना’ र ‘अमर भावना–२’ एल्बम प्रकाशित छन् । वान्तुद्वारा रचित ‘गर्मी भयो धरान’, ‘जीवन मृत्यु’, ‘काठै भाकाले’, ‘अरे क्यानाम’ ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’, तिम्रै प्रवाह’, ‘आँखैको भाकैमा’, कसो गरी भरिएला सपनाको झोली’, ‘जिन्दगीको दौडमा’, ‘सिल्की कपाल उड्यो’, ‘तिम्रो शहर’, ‘हृदयको आवाज’, मार्‍यो सुड्डोले’, ‘चकमक झुलो दल्छिन ढुंगा’ लगायत गीत श्रोतामाझ लोकप्रिय छन् ।

यसअघि दीर्घसाधना सम्मान संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, गायिका तथा संकलक चन्द्रकला शाह, गायिका ज्ञानु राणा तथा गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो । यो संस्करण सिक्किमको राभङलामा साउन ३ गते गर्न लागिएको आयोजकले जनाएको छ ।