काठमाडौं । यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउँ बाबा पीडा भुल्ने मुटु’रिलिज भएको छ । रिलिज गीतमा आपत परेको समयमा सन्तानले बुवालाई सम्झिएको दृश्य देखाइएको छ । गीतमा महिला पात्रलाई छाउगोठमा बसेको देख्न सकिन्छ ।
यस गीतमा शब्द फिल्मका अभिनेता प्रदीप दिपले लेखेका हुन् भने संगीत अभि सुनारको छ। गीतमा गायिका अस्मिता अधिकारीको स्वर छ । पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्म पछिल्लो समय चर्चामा छ। फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ ।
फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै,स्वयम् निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मले देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको भनाइ छ।
फिल्ममा संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ। फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको सुन्दर छायांकन रहेको यस फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।
नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।




