छायांकनको तयारीमा तीन तिघ्रे क्या बिग्रे

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा फिल्मको घोषणा गरिएको हो।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्मको छायाङ्कन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य प्रोजेक्टहरू पनि यस फिल्मपछि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने जानकारी दिए।

फिल्मका गीत गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कन सिनेमाटोग्राफर संकल भुजेलले गर्नेछन् । निरज नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा शमशेर लामाको शृंगार र जीवन पोखरेलको भेषभुषा रहनेछ ।

फिल्ममा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, बेगम नेपाली, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, वीरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना तथा राजु तिमल्सिना लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

निर्देशक सापकोटाले कमेडी जनरामा निर्माण हुन लागेको फिल्मले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको बताए। आरआर फिल्मस्ले वितरणको जिम्मेवारी लिएको फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।