मदनकृष्णसहित पाँच स्रष्टालाई छिन्नलता प्रदान

काठमाडौँ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीद्वारा शनिबार आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले सो पुरस्कार प्रदान गरे । कार्यक्रममा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ गायक श्रेष्ठलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

यसैगरी, गीत रचनातर्फ गीतकार डा नवराज लम्साल, सङ्गीत सिर्जनातर्फ सङ्गीतकार किरण कँडेल, गायनतर्फ गायिका विमला राईलाई जनही रु एक लाख राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरियो । गायिका सारिका घिमिरेलाई ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’ प्रदान गरियो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

पुरस्कृत व्यक्तित्व डा लम्सालले गीत सभ्यता र गीतकार त्यही सभ्यताको बीज भएको उल्लेख गर्दै सुप्त अवस्थामा रहेका आफ्ना गीतलाई सङ्गीत र स्वरले ब्यूँझाइदिएर अहिलेको अवस्थामा पु¥याइदिने सङ्गीतकार तथा गायकरगायिकाप्रति आभार प्रकट गरे ।

गुठीका सचिव एवं साहित्यका दिनेश अधिकारीले नेपाली गीतसङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका गीतकार, सङ्गीतकार र गायक÷गायिकालाई २०३९ सालदेखि गुठीले सम्मान गर्दै आइरहेको जानकारी दिए ।

हालसम्म ४० जना गीतकार, ३९ जना सङ्गीतकार, ४१ जना गायकरगायिका र ४१ जना युवा प्रतिभालाई सो पुरस्कार समर्पण गरिएको गुठीले जनाएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्तीका अवसरमा ती पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंहले कविता तथा पुरस्कृत व्यक्तित्व विमला राई र सारिका घिमिरेले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। सो पुरस्कारबाट गायक नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, तारादेवी, अम्बर गुरुङ, कोइलीदेवी माथेमा, गोपाल योञ्जन, दीप श्रेष्ठ, भक्तराज आचार्य, गीतकार कृष्णहरि बराल, दिनेश अधिकारी, वसन्त चौधरीलगायत सम्मानित भइसकेका छन् ।