काठमाडौं । ग्यालेक्सी र बेटर ग्यालेक्सी मोडलिङ एजेन्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित भएका छन् । उनलाई बेलायतको एपेक्स हेल्थ केयर सेन्टरले ‘बेस्ट प्रोफेसनल्ली ड्रेस’ विधाको अवार्डबाट सम्मान गरेको हो ।
धीरजले नेपालभन्दा धेरै टाढा आएर अन्तर्राष्ट्रिय स्तरमा अवार्ड पाउँदा गर्वले छाती चौडा भएको बताए । ‘यसलाई मैले गरेको मेहनतको प्रतिफलका रूपमा लिएको छु र यो पुरस्कारले काम गर्ने उत्साहअझै थपेको छ’, उनले भने ।
सन् २००० मा मोडलिङ क्षेत्रमा प्रवेश गरेर सन् २००१ मा ‘मिस्टर काठमाडौं’को उपाधि जितेपछि धीरज मोडलिङ र ग्ल्यामर क्षेत्रमा सक्रिय छन् । ग्यालेक्सी र बेटर ग्यालेक्सी मोडलिङ एजेन्सी स्थापना गरेर उनले झण्डै २४ वर्ष विभिन्न प्रकारका प्रतियोगिता, फेसन शो र कार्यक्रमहरूको आयोजना गर्दै बिताएका थिए ।
उनको संस्थाले ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’, ‘नेसनल किड्स अफ द इयर’, ‘मिसेस क्विन नेपाल’, ‘मिस्टर एन्ड मिस टिन’, ‘मोडल हन्ट’, ‘फेसन एन्ड स्टाइल’ लगायत अनेकौं फेसन शो आयोजना गरेका छन् । फुटबल खेलाडीहरूलाई समेटेर ‘ग्ल्यामर एन्ड स्पोट्र्स’ तथा ‘नाडा अटो शो’ जस्ता कार्यक्रमहरू समेत सञ्चालन गरिसकेका छन् । उनले केही फिल्ममा अभिनय र मोहन भुसाल, निर्णय श्रेष्ठ लगायतका गायकको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।
एक वर्षयता परिवारसहित बेलायतमा बस्दै आएका धीरजले त्यहीँ नेपाली कला, संस्कृति र फेसनसँग जोडिएका कार्यहरू गर्दै आएका छन् । ‘बेलायत पुगेपछि नेपालप्रतिको माया झन् बढेको छ । यहाँ कामको व्यस्तता भएपनि समय निकालेर नेपाली कला, संस्कृति र फेसनसँग सम्बन्धित कार्यक्रमहरूमा निरन्तर सहभागी भइरहेको छु’, उनले भने ।
धीरजले लण्डनमा भएको भिक्टोरिया महोत्सवमा भएको रोड शोमा धीरजसहित त्यहाँका नेपालीहरुले नेपाली र नेवारी पहिरनमा सजिएर धिमे बाजासहित सहभागिता जनाउँदै सबैले प्रशंसा गरेको अनुभव सुनाए ।
धीरजले लन्डनमा नेपाली संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले एउटा कम्पनी स्थापना गरेको खुलाए । जुन कम्पनीले पाचपुचः गुठीसँग मिलेर म्हपूजा, बिस्केट जात्रालगायतका कार्यक्रमहरू आयोजना गरेका छन् । धीरज र उनको टिमले गुफा राख्ने संस्कारदेखि पास्नी, व्रतबन्ध, विवाह र मृत्युसम्मका परम्पराहरूलाई एउटै फेसन शोमार्फत प्रस्तुत गरेका थिए ।





