काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को पूर्व निर्धारित रिलिज स्थगित गरिएको छ । यही भदौ २६ गते रिलिजको तयारीमा रहेको यो फिल्म अब तिहारको अवसर पारेर तिहारको मुखैमा अर्थात कार्तिक २० गते रिलिज हुनेछ । कार्तिक २१ गते काग तिहार हो ।
फिल्मका निर्माता तथा नायक दिल श्रेष्ठले फेसबुकमार्फत मुलुकमा देखिएको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि फिल्म रिलिज स्थगित गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘नमस्कार म दिल श्रेष्ठ । रेखा थापाको निर्देशन रहेको र दिया एण्ड अमु फिल्मसले निर्माण गरेको चलचित्र माया भनेकै यस्तो होलाको २०८३ भदौ २६ गते भनिएको प्रदर्शन मिती अहिलेलाई स्थगित गरिएको जानकारी एप्पल इन्टरटेनमेन्ट , एफ डी कम्पनी र रिच इन्टरटेनमेन्टसंगै यससंग समबन्धित सबैमा जानकारी दिन चाहन्छौ । मूलुकका आइपरेको प्रतिकूल अबस्थालाई ध्यानमा राखेर यो पिडा र दुखको समयमा चलचित्र रिलिज गर्न त्यति अनुकूल नदेखिएका कारण अब चलचित्र माया भनेकै यस्तो होलाको रिलिज तिहारको अबसरमा कार्तिक २० गते शुक्रबारदेखी सार्बजनिक प्रर्दशनमा ल्याईने जानकारी पनि दिन चाहन्छौ । यसबाट कसैमा पर्न गएको असुबिधाप्रति हामी क्षमाप्रार्थी छौ । मूलुक रोइरहेको समयमा चलचित्र जस्तो मनोरन्जनात्मक सामाग्री पस्कन हाम्रो मनले मानेन । पहिले जस्तै आगामी दिनहरूमा पनि यहांहरूको साथ र माया पाउंने आशामा छौ । अब चलचित्र माया भनेकै यस्तो होला को प्रदर्शन मिती तिहारको अबसरमा कार्तिक २० गते शुक्रबारका दिन तय गरिएको छ । धन्यबाद‘॥’
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको अभिनय रहेको छ ।
फिल्मको निर्मातामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ छन् ।





