मनीषा काेइराला भन्छिन्ः रसुवा गएर हेर्न ममा हिम्मत छैन

काठमाडौं । नेपालको रसुवास्थित भोटेकोशीमा गत भदौ १० गते आएको भीषण बाढीले नेपाल यतिबेला राष्ट्रिय शोकमा छ । यो प्राकृतिक विपत्तिका बीच बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइराला हालै सद्गुरुद्वारा आयोजित ‘इन सोलिडेरिटी विद नेपाल’कार्यक्रममा पटक पटक भावुक बनिन् । कार्यक्रममा मनीषाले बाढीमा परिवारजन गुमाएका आफन्त र यो शोकपूर्ण घडीमा बाँचिरहेका प्रति समवेदना व्यक्ति गरिरहँदा अन्य उपस्थित मानिस पनि भावुक बनेका थिए ।

मनीषाले कार्यक्रममा नेपाल यो त्रासदीबाट चाँडै बाहिर निस्कने पनि आशा व्यक्त गरिन् । मनीषा बोलिरहँदा कैयौं पटक उनी रोकिएकी थिइन् । ‘हाम्रो देशले पटक पटक यस्तो विपत्तिको किन सामना गरिरहनु परेको छ ? कहिले भूकम्प आउँछ र परिवारको विनाश हुन्छ । त कहिले यस्तो भयानक बाढी आउँछ । जसले हजारौं मानिसहरुलाई दुःख र पीडामा बस्न बाध्य बनाउँछ । जब भूकम्प आयो, तब म सिन्धुपाल्चोक गएकी थिएँ । मैले ढलेका घर र मानिसको उजाड दुनियाँलाई हेरेको थिएँ । तर अहिले रसुवा गएर यी सबै हेर्न ममा हिम्मत छैन’, मनीषाले भनिन् ।

मनीषाले अगाडि भनिन्, ‘किन प्रकृतिले, वा सायद हाम्रा आफ्नै कार्यहरूले हामीलाई बारम्बार यति धेरै पीडा दिन्छ ? के यो पीडा कम गर्न सकिँदैन ? हे भगवान, के हामीलाई कम पीडा हुन सक्छ ? मलाई थाहा छैन कि मेरा भावनाहरू कसरी बुझ्ने । यो जीवनले हामीलाई अझै कति पीडा सहन बाध्य पार्नेछ ? मलाई यति मात्र थाहा छ कि जब हामी कठिनाइको सामना गर्छौं, हामीसँग त्यसलाई पार गर्नुको विकल्प हुँदैन । हामीसँग हाम्रो सबै साहस जम्मा गर्नु र बिस्तारै अगाडि बढ्नु बाहेक अरू कुनै उपाय छैन । र त्यो हाम्रो देशले गर्नेछ। त्यो हाम्रा मानिसहरूले गर्नेछन् ।’