ह्वाट शेखर स उत्कृष्ट

काठमाडौं । नेपालमा गएको २२ वर्षदेखि स्नातक तहमा फिल्म अध्यापन गराउँदै आएको अस्कर अन्तर्राष्ट्रिय कलेजले चलचित्र विकास बोर्डसँगको सहकार्यमा आयोजना गरेको चौथो युवा लघु सिनेमा प्रतियोगिताको प्रथम पुरस्कार ऋषभ ओझाको फिल्म ‘ह्वाट शेखर स’ले प्राप्त गरेको छ । एक लाख रुपैंयाँ पुरस्कार जितेको यो फिल्मले दाजु भाइको सम्बन्ध केलाउँदै सामाजिक दबाब, मानसिक स्वास्थ्य एवम् पुरुष एकाङ्कीपनको मार्मिक र सुन्दर कथा प्रस्तुत गरेको छ ।

काठमाडौँको सुकेधारास्थित कलेजकै ‘साधना घर’ प्रेक्षालयमा सम्पन्न उत्कृष्ट १२ फिल्महरूको प्रदर्शनी तथा पुरस्कार घोषण एवम् वितरण कार्यक्रममा निर्णायकहरू सुवास कोइराला, कला संग्रौला र प्रशन्न मालीले विजेताहरू घोषणा गरेका थिए । दोश्रो पुरस्कार रियाना थापाको‘ ‘घरको बाटो’ले पाएको थियो भने तेश्रो पुरस्कार आतिफ खानको ‘लभ–नोट’ले पाएको थियो ।

‘घरको बाटो’ले शान्त तथा अवलोकनात्मक दृष्टिकोणमा एउटै घेराभित्र च्यापिईरहेकी बालिकाको कथा र लभ नोटले प्रेमकथा भनेको थियो । जुरी पुरस्कार यस वर्ष दुईवटा फिल्महरूलाई प्रदान गरिएको थियो । पहिलो पुरस्कार लक्की कार्कीको ‘रेम्नेन्ट्स अफ द मेमोरी’ले पाएको थियो जसले दृष्यात्मक कथावाचनमा डुबुल्की लगाएको थियो भने दोश्रो जुरी पुरस्कार निर्मल विकको ‘आशा’ले पाएको थियो जसमा अत्यन्तै संवेदनशील ढङ्गले बाल यौन शोषणको मुद्दा उठाइएको थियो ।

दोश्रो विजेताले पचास हजार तथा तेश्रोले पच्चीस हजार रकम प्राप्त गरेका थिए । जुरी पुरस्कार सहित सबै विजयीहरूले यदि कलेज भर्ना हुन चाहेको खण्डमा कलेजले ट्युशन शुल्कमा पचास प्रतिशतछात्रवृत्ती प्रदान गर्ने आयोजकले जनाएको छ । २० वर्षमुनिका प्रतिभाहरूलाई पहिचान गर्ने उद्देश्यका साथ सुरूवात भएको यस प्रतियोगितामा प्रत्येक वर्ष सहभागी युवा सिनेमाकर्मीहरूको संख्या बढेर यस वर्ष ४५ भन्दा बढिले सिनेमा बुझाएको र तीमध्ये १८ जनाका सिनेमा प्रतियोगिताको लागि योग्य ठहरिएको कलेजको दावी छ ।