नुवाकाेटका बाढीपीडितलाई अक्षराकी न्यान्सीको राहत

काठमाडौं । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का राहत लिएर नुवाकोट पुगेकी छन् । गत बुधबार आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित बनेका परिवारलाई राहत लिएर उनी नुवाकोट पुगेकी हुन् । उनले बाढीबाट प्रभावित भएका परिवारहरुलाई भेटेर राहतसमेत वितरण गरेकी छन् ।

‘बाढी–पहिरोबाट प्रभावित परिवारहरूसम्म प्रत्यक्ष पुगेर उहाँहरूको अवस्था बुझ्ने र सकेको सहयोग गर्ने उद्देश्यले म नुवाकोटको विभिन्न प्रभावित क्षेत्रहरूमा पुगेँ,’ उनले भनिन्, ‘मैले पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुगेर त्यहाँ उपचाररत बाढी–पहिरोबाट प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूसँग भेटघाट गरें । वडा अध्यक्षज्यूसँग पनि भेटेर प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे जानकारी लिएँ ।’

उनले यात्राका क्रममा आवश्यकतामा रहेका सुरक्षाकर्मी तथा सम्बन्धित अधिकारीहरूलाई मास्क र ग्लोभ्स पनि उपलब्ध गराएको बताइन् । स्थलगत अवलोकन गर्दै युनाइडेट स्कुल, बट्टार धोबिघाट लगायत लगायतका स्थानमा पुगेर स्थानीयहरूको अवस्था बुझ्ने प्रयास गरेको उनले बताइन् ।

पुर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी न्यान्सी खड्काको यो दोस्रो फिल्म हो। विनयराज पौडेल निर्देशित यस फिल्ममा न्यान्सीका अलावा सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता बस्नेत, सृष्टि खड्का, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय छ। दिपेन बस्न्यातको छायांकन रहेको यस फिल्ममा गौतम खड्काले सम्पादन गरेका हुन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता सोनी थापा हुन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता हुन्।