काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ले सेन्सर बोर्डबाट युनिभर्सल (यू) सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ । बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिने लाहुरे जीवनभित्रका पारिवारिक उतारचढाव र भावनात्मक संघर्षलाई फिल्मले उजागर गर्ने प्रयास गरेको छ ।
माओत्से गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङलगायत कलाकारको अभिनय छ । फिल्म आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन् । सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन् । संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन् ।
निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । फिल्ममा सुरज तामु र केर डी कोइन्च लिनुच सह–लेखक, राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन् ।





