काठमाडौं । अभिनेता विशाल देवकोटा डेब्यु फिल्म ‘लालीबजार’ बाट दर्शक माझ चिनिएका छन् । उनले फिल्ममा निर्वाह गरेको नारायणको पात्रलाई दर्शकले मन पराएका छन् । कुप्रथा विरुद्ध आवाज उठाउने, शिक्षाको महत्व बुझाउने र इमान्दार पात्रको भूमिका निर्वाह गरेका विशाल थियटर हुँदै फिल्ममा आएका हुन् ।
फिल्म ‘लालीबजार’ मा उनी अडिसनमार्फत छनोट भएका थिए । उनको अभिनय कौशलताकै कारण डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर प्राप्त गरेको निर्माण कम्पनि षट्कोण आर्ट्सले जनाएको छ ।
‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ । यसपटकको जन्मोत्सव खास नै रह्यो, सोमबार मात्र मैले डेब्यु फिल्मको ५१ औँ दिनलाई सेलिब्रेट गर्न पाएँ, आज मंगलवार जन्मदिन पर्यो । यहाँबाट मेरो नयाँ यात्रा प्रारम्भ भएको महसुस मैले गरेको छु’, उनले भने ।
उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका थिए ।
उनी अब फिल्मकै काममा व्यस्त हुँदैछन् । ‘लालीबजार’ को सफलताले उनको कामलाई दर्शकसँगै फिल्म मेकरसम्म पनि पुर्याएको छ । उनलाई विभिन्न फिल्मबाट अभिनयको प्रस्ताव समेत आउन थालेको छ ।
चितवनबाट झन्डै ९ वर्ष अगाडि काठमाडौँ आएका विशालले पहिलो फिल्मबाट दर्शकको अपार माया पाए ।




