चरित्रबाटै फिल्म प्रचार गर्दै गौथली जोडी

काठमाडौं । फिल्म ‘गौँथली’ यतिबेला चर्चाको केन्द्रमा छ । प्रोमोसनको शैलीमा देखिएको केही फरकपन र कलाकारले गरेको मेहनत तारिफयोग्य छ । यसको गीत सार्वजनिक कार्यक्रममा ‘गौँथली’का मुख्य दुई कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला र बेहुलीको भेषमा पुगेका थिए । किनकी त्यो गीतमा र सिनेमामा उनीहरु त्यही भेषमा थिए ।

केही दिन अघि अरुण र सिम्रन एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिन त्यही भेषभुषामा पुगे । सिम्रनले आफू १५ वर्षको उमेरमै एक अटिजम भएको व्यक्तिसँग विवाह गर्न पुगेको बताइन् । अरुणले अटिजम भएको क्यारेक्टर फिल्ममा जसरी निभाएका छन्, त्यही क्यारेक्टरमा अन्तर्वार्ता दिए ।

सुरुमा धेरै साँच्चै कोही रियल क्यारेक्टरले अन्तवार्ता दिइरहेको भनेर झुक्किएका थिए । जुन शैली यी दुई क्यारेक्टरले फिल्मको प्रचारमा अपनाएका छन्, र मेहनत गरिरहेका छन् ।

‘गौँथली’मा यो विषय उठान गर्ने र कलाकारले प्रचारका लागि यो शैली अपनाउन हौसला निर्देशक कपिल रिजाल र प्रकाश सुवेदीले दिएका हुन् । निर्देशक रिजालले यसअघि फिल्म ‘ह्यारी कि प्यारी’ निर्देशन गरेका थिए । यसमा उनले पहिलोपटक जितु नेपाललाई हिरोका रुपमा ब्रेक दिएका थिए ।

कपिल आफैँमा भने पेशाले चिकित्सक हुन् । लामो समय बेलायत बसेर उनले डेन्टल चिकित्सकको रुपमा काम गरेका थिए । तर, उनी पछिल्लो समय निर्देशनमा आइपुगेका छन् ।

कपिल स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुन् । यो फिल्ममा अरुण क्षेत्री र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।