काठमाडौं । आगामी साउन १ गतेबाट रिलिज हुने फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ३ मिनेट २० सेकेण्डको ट्रेलरमा एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
ट्रेलरमा अटिजम भएका अरुण क्षेत्रीले देखाउने अस्वाभाविक क्रियाकलाप र त्यसको सामना गरिरहेकी सिम्रन खड्कालाई देखाइएको छ । खुशीसाथ पढ्दै गरेकी सिम्रनको अरुणसँग एक्कासी विवाह गरिदिएपछि उनको जीवनमा आउने दुःखको पहाडलाई ट्रेलरमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । महिलाले महिलालाई नै सहयोग नगर्दाको असर ट्रेलरमा देख्न सकिन्छ । विवाह गर्दिन भन्ने एक युवतीले आमाबुवाको आग्रह र इज्जत धान्न गरेको सम्झौताले पाउनु परेको दुःखले दर्शकलाई भावुक बनाउनेमा निर्माण पक्ष ढुक्क छ ।
डा.कपिल रिजालको निर्देशन रहेको फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।




