ट्रेन्डिङमा गौथली ट्रेलर

काठमाडौं । साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको छ । चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर नेपालमा फिल्मतर्फको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा रहेको छ ।

ट्रेलर हेरेर यस फिल्मलाई दर्शकले व्यापारिक सफलताको शुभकामना दिइरहेका छन् । युट्युबमा ट्रेलर हेरेर अकेन्द्र ठकुरी लेख्छन्, ‘यो फिल्मले पूर्णबहादुरको सारङ्गीको रेकर्ड तोड्नुपर्छ ।’

फिल्ममा अटिजम भएको युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनको अपोजिटमा रहेकी सिम्रन खड्को अभिनयको धेरै तारिफ भइरहेको छ । अञ्जु थापालाई ट्रेलरले नै रुवायो । उनी लेख्छिन्, “ट्रेलरले नै रुवायो, पूरा फिल्मले त के गर्ला ?’

छवि ओलीलाई पनि यसको सम्बेदनाले मन छोएको छ । ‘फिल्म पुरै त हेर्न सकिन्न होला, हलमै आँसुले बगाएर । सशक्त अभिनय, उस्तै सम्बाद र भावले हरपल हृदय रसाएर । सानो अंश हेर्दै त आङ जिरिङ भयो हर शब्द सम्बादले,’ उनले लेखेका छन् ।

अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपनाको प्रस्तुतिलाई दर्शकले मन पराइरहेका छन् ।

डा. कपिल रिजालको निर्देशन रहेको फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।