काठमाडौं । एकेडेमी स्कूल अफ फेसन एन्ड इन्टेरियर डिजाइन आईआईएफटीले आयोजना गरेको १३ औं संस्करणको ‘ड्रेस टु इम्प्रेस’ चार डिजाइनर उत्कृष्ट घोषित भएका छन् । प्रतिस्पर्धामा आईआईएफटी बागबजार र आईआईएफटी कुमारीपाटीका १ सय ५५ विद्यार्थीहरूले आफ्नो फेशन डिजाइन प्रस्तुत गरेका थिए । ती डिजाइनहरू ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वल्र्ड’, ‘ग्यालाक्टिक फेशन’ र ‘अ पारालाल युनिभर्स’ शीर्षकमा प्रस्तुत गरिएको थियो ।
जसमा ‘डान्सिङ विथ द स्टार्स’मा प्रेशा थापा उत्कृष्ट डिजाइनर र सुजाता खनाल पब्लिक च्वाईस, ‘अराउन्ड द वल्र्ड’ सिक्वेन्समा सुस्मिता ढुंगाना उत्कृष्ट डिजाइनर र पब्लिक च्वाईस, ‘ग्यालाक्टिक फेशन’ सिक्वेन्समा जया थापा उत्कृष्ट डिजाइनर र अनुराधा बोहोरा पब्लिक च्वाइस तथा अ पारालाल युनिभर्स सिक्वेन्समा सृजना श्रेष्ठ उत्कृष्ट डिजाइनर र श्रीति पाण्डे पब्लिक च्वाईस घोषित भए । उपाधि विजेताले जनही २० हजार रुपैयाँ, पब्लिक च्वाईस विजेताले जनही १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहारसमेत प्राप्त गरे ।
प्रतियोगितामा फेशन डिजाइन तथा इन्टरप्रेनरहरू मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेशन डिजाइनर महेश महर्जन निर्णायक थिए । फेशन सोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
आफूहरूले विधार्थीहरुको फेसन डिजाइन प्रस्तुति ‘ड्रेस टु इम्प्रेस लाई भव्य बनाउन हरेक वर्ष कुनै कसर बाँकी नराखेको आइआईएफटीका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए । यसमा विधार्थीहरुले नयाँ नयाँ अवधारणा र मौलिक कला एवम् सिप प्रस्तुत गर्दै आफूलाई अझ निखार्ने अवसर पाउँदै आएको पनि प्रवन्ध निर्देशक शेर्पाले बताए ।




