काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘गौथली’की शीर्ष पात्र सिम्रन खड्काले काठमाडौं र ललितपुरका सडकमा डोको बोकेर फिल्मको प्रचार गरेकी छन् । उनले दर्शकलाई हलमा आएर फिल्म हेरिदिन पनि आग्रह गरेकी छन् । सिम्रन आफ्नो फिल्मको प्रचारका लागि शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका सडक–सडक पुगिन् ।
सुरुदेखि प्रचारको नयाँ तरिका अपनाइरहेको फिल्मको निर्माण टिमले शनिबार नायिकालाई सिनेमाको क्यारेक्टरमै दर्शक भेट्न डोको बोकाएर सडक–सडकमा पुर्याएकाे थियो ।
काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन क्षेत्रमा डोको बोकेर पुगेकी सिम्रनले दुई हजारभन्दा धेरै दर्शकलाई भेटेर फिल्म हेर्न आग्रह गरिन् । सिनेमाको सारांश र डिटेल समेटिएको ब्रोसर दिँदै सिनेमा हेर्न निम्तो दिइन् ।
प्रत्यक्ष भेटेर दर्शकलाई सिनेमा हेर्न निम्तो दिँदा रमाइलो अनुभव गरेको र दर्शकले हामी सिनेमा हेर्न जान्छौँ भन्दा आत्मविश्वास बढेको उनले बताइन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । फिल्ममा डा. कपिल रिजालको निर्देशन छ ।




