काठमाडौं । फिल्म ‘गौँथली’ प्रिमियरमा रुचाइएको छ । सोमबार सिभिल महलमा भएको प्रिमियरमा फिल्म हेर्नेले मुक्तकण्डले प्रशंसा गरेका छन् ।
फिल्म हेर्नेहरूले पूरा अवधी फिल्मले दर्शकलाई बाँधेर राख्ने बताएका छन् । नेपाली समाजको केही समय अगाडिको वास्तविकतालाई टपक्क टिपेर अहिलेका दर्शकमाझ ल्याइदिएको भन्दै फिल्म हेर्न पुगेका कलाकार तथा अन्य क्षेत्रका व्यक्तिहरूले लेखक तथा निर्देशकको खुलेर तारिफ गरेका छन् ।
फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काले गरेको अभिनयको पनि प्रिमियरमा सिनेका हेर्ने सबैले तारिफ गरेका छन् । अटिजम भएको व्यक्तिको भूमिका निर्वाह गरेका अरुण र बुहारीको भूमिकामा रहेकी सिम्रनको कामको सबैले तारिफ गरेका हुन् ।
कलाकारहरू कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदीलगायत थुप्रै चिरपरिचित अनुहारहरू प्रिमियरमा पुगेका थिए ।
कपिल रिजालले निर्देशन गरेको फिल्म साउन १ गतेबाट प्रदर्शनको तयारीमा छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।




