मास्टर्नीको प्रमोसनल गीतमा दुर्गेश

काठमाडौं । फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीत सार्वजनिक भएको छ । मंगलबार ललितपुरस्थित लबिम मलमा एक कार्यक्रमका बीच फिल्मको उक्त गीत सार्वजनिक गरियो ।

गीतमा दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको छ भने उनलाई गायनमा बबिना किरातीले साथ दिएकी छन् । गीतको भिडियोमा दुर्गेशसहित प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देल देखिएका छन् । गीतमा प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।

आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, सिम्रन खड्का, अनुप विक्रम शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शुभेन्द्र घोषको निर्देशनमा बनेको फिल्मलाई प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले निर्माण गरेका हुन् ।