पुनः सञ्चालनमा आयो गुण सिनेमा

काठमाडौं । ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमा अत्याधुनिक प्रविधिका ८ वटा स्क्रिनसहित आजबाट संचालनमा आएको छ । २०५२ सालमा खुलेको गुण सिनेमा करिब २७ बर्ष निरन्तर सफलताका साथ चलेको थियो । २०७९ सालमा नयाँ भवन निर्माणका लागि पूर्णरुपले बन्द भएपछि यो हल पुनः शुक्रबारबाट दर्शकको मनोरञ्जनमा खटिएको छ ।

गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र(दिजेन्द्र) शाक्यले नयाँ भवन निर्माणका लागि हल बन्द गर्नु परेकाले धेरै दर्शकलाई फिल्म हेर्न असुबिधा भएको स्वीकार्दै पहिलाभन्दा थप एक हलका साथमा आएको बताए ।

देशकै ठूलो मल्टिप्लेक्स चेन–क्युएफएक्सको ब्यबस्थापन रहेको गुण सिनेमामा ४१ देखि २६० सिट क्षमताका हलहरु छन् । अध्यक्ष शाक्यका अनुसार हलहरुमा जिडिसी सर्भर,पुल्ज र जेबिएल स्पिकर,डिटिएस एक्स,प्रोसेसर एआइबि ३००० इमर्सिभ साउण्ड सिस्टम,बेल्जियममा निर्माण भएको बार्को टुके लेजर प्रोजेक्टरका साथमा गालालाइट सिल्भर स्क्रिन जडान गरिएको छ । दर्शकको सुबिधाका लागि हरेक हलमा प्रिमियम सोफा सिट,फुल एअर कन्डिक्सनको ब्यबस्थाका साथमा कम्फर्टवेल र लक्जरियस लबी निर्माण गरिएको छ । हलभित्र हिमालयन जाभा कफीसहित दर्शकको चाहना बमोजीमका खाना,स्न्याक्सको ब्यबस्था गरिएको छ ।

कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेश डिसीले नेपाली फिल्मको बिकास,बिस्तार र दर्शकको अभिरुचि बृद्धिका लागि गुण सिनेमाले दिदै आएको योगदान स्मरण गर्दै एकै छानामुनी अत्याधुनीक प्रबिधि र सुबिधायुक्त ८ वटा हल संचालनमा आउदा निकै गर्व लागेको बताए ।

चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले गुण सिनेमाको नयाँ स्वरुपको तारिफ गर्दै चलचित्रको बजार बिस्तारमा निकै सघाउ पुग्ने धारणा राखे । क्युएफएक्स प्रमुख नकिम उद्दिनले दरबार सिनेम्याक्सपछि गुण सिनेमासँग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

नेपाली तथा बिदेशी सबै प्रकारका चलचित्र प्रदर्शन हुने गुण सिनेमामा पहिला एकै छानामुनी ७ वटा हल थिए । काठमाडौं उपत्यकाका जिल्ला मात्रै नभइ काभ्रे,सिन्धुपाल्चोक,रामेछाप तथा सिन्धुलीबाट समेत दर्शकहरु फिल्म हेर्न गुण सिनेमामा ओइरिने गर्दथे । जसकारण नेपाली फिल्मले आम्दानीको ठूलो हिस्सा गुण सिनेमाबाट लग्ने गर्दथे ।

गुणमा शुक्रबारबाट नेपाली फिल्म ‘गौँथली’,हिन्दी ‘धमाल ४’,अंग्रेजी ‘द ओडिसी’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् ।