काठमाडौं । नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ हुने भएको छ ।
नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा हुनेछ । गत जेठ महिनामै आवेदन आह्वान गरिए अनुसार देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यो प्रतियोगितामा सहभागिता जनाउन आफ्नो कन्टेन्टहरु उपलब्ध गराइसकेका छन् ।
निर्णायक समुहले यो प्रतियोगिताका लागि प्राप्त कन्टेन्टको मूल्यांकनको आधारमा उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउने छन् ।
आयोजक संस्थाले निर्णायकको निर्णयका आधारमा आगामी साता मनोनयन सूचि सार्वजनिक गर्दैछ । ग्राण्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिने छ, जसका लागि हरेक विधामा १०–१० क्रिएटरलाई मनोनयनमा समावेश गरिने छ ।
प्रतियोगिताको मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका अनुभवी चार जना निर्णायक रहने छन् । निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन् ।
प्रतियोगिताको सम्पूर्ण समन्वय तथा व्यवस्थापन स्पर्श मिडिया इन्टरटेन्मेन्टले गरिरहेको छ ।




