काठमाडौं । आगामी असोज २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तिव्रता दिएको छ । फिल्म रिलिजका लागि २ साता बाँकी रहँदाको अवस्थामा नेपाल यातायातका ८० वटा गाडीका सिट कभरमा फिल्मको प्रचारप्रसार सामाग्री राखिएका छन् ।
नेपाल यातायातमा यात्रा गर्ने अधिकांश दर्शकले यो फिल्मको बारेमा प्रत्यक्ष जानकारी पाउनेछन् । यो प्रचार शैलीलाई अहिले आम दर्शकले रुचाइरहेका छन् । सिट कभरमा ‘झिंगे दाउ २’को २ वटा क्यूआर समेत राखिएको छ । जसमध्ये, एउटा क्यूआरबाट फिल्मको टिजर हेर्न मिल्नेछ । यस्तै, अर्को क्यूआरबाट क्यूएफएक्स चेनका सबै हलमा टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।
निर्माणपक्षले शुक्रबार फिल्मको तीज गीत रिलिज गर्ने तयारी समेत गरेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।
फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ ।





