बाढीपीडितलाई मुन्नीले दिइन् राहत सामाग्री

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीमा घरबारविहिन र आफन्तजन गुमाएका पीडितका लागि फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ राहत सामाग्री बोकेर प्रभावित क्षेत्र नुवाकोट तथा रसुवा पुगेकी छन्।

प्रियनाले आफ्नै व्यक्तिगत पहलमा ५ गाडी राहत सामग्री त्यसतर्फ पठाएकी हुन्। उनले भनिन्, “अहिले फिल्मको प्रचारप्रसारभन्दा पनि बाढीका कारण बिचल्लीमा परेका मानिसहरूलाई राहतको खाँचो छ। त्यसैले अहिले म पूर्ण रूपमा यसै अभियानमा सक्रिय भएर लागेकी छु।”

उनी अभिनित फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। फिल्म हलमा लाग्न दुई साता पनि बाँकी नरहेको अवस्थामा प्रचारमा जुट्नुपर्ने भए पनि उनले यतिबेला मानवीय सहायतालाई प्राथमिकता दिएकी हुन्।

भारी बोकेर जीविकोपार्जन गर्ने कार्की साइँलाको कथामा आधारित यस फिल्ममा जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका रहेको छ । फिल्ममा सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारको समेत अभिनय रहेको छ।

डम्बर राईको कथामा बनेको यस फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन छ । शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेको फिल्मका निर्माता बाल कुमार राई र निर्भिक बञ्जारा हुन् भने कार्यकारी निर्माता अनन्त राई हुन्।