आठ सहरमा मिस्टर एण्ड मिस लिटिल कोशीको अडिसन

काठमाडौं । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको १० औं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी सिजन १०’को यतिबेला धमाधम अडिसन भइरहेको छ । संस्थाका अध्यक्ष जय राज रायका अनुसार प्रतियोगिताका लागि ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुले अडिसन दिइरहेका छन् ।

यो अडिसन विराटनगर, इटहरी, धरान, गछिया, विराटचोक, उर्लाबारी, दमक र बिर्तामोडमा भइरहेको हो । अध्यक्ष रायले अडिसनमा ‘मिस कोशी’का विजेता, स्थानीय समाजसेवी, मिडियाकर्मी निर्णायक रहेको बताए ।

अध्यक्ष रायका अनुसार प्रतियोगिताको छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीहरुलाई दशैको छुट्टीमा प्रशिक्षणमा राखिनेछ । ‘बालबालिकाहरुको पढाइमा कुनै पनि असर नपुग्ने गरी यो प्रतियोगिता हुनेछ’, उनले भने, ‘बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष गर्दै आएका छौं ।’

आयोजकका अनुसार छठ पछि प्रतियोगिताको फिनाले हुनेछ ।