काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा यही कार्तिक १४ गते गुञ्जिने भएको छ । त्यहाँस्थित पाल्जोर स्टेडियममा नेपथ्यले आफ्ना लोकप्रिय गीत सुनाउन लागेको हो ।
सिक्किममा कन्सर्टको घोषणालगत्तै त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए ।
नेपथ्य सिक्किममा चौथो पटक प्रस्तुत हुन लागेको हो । निकै अघिदेखि फुटबल प्रतियोगिता आयोजना हुँदै आएको पाल्जोर स्टेडियम तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलामद्वारा उद्घाटन गराएर बहुउद्देश्यीय स्टेडियमका रूपमा विकास गरिएको हो ।
‘कन्सर्ट आयोजनादेखि साधनस्रोतसम्म जुटाउन चौतर्फी हिसाबले व्यापक तयारी अघि बढिसकेको छ,’ आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कका विकेश कायस्थले प्रतिक्रिया दिए, ‘मैदानको व्यवस्थापन र सुरक्षालाई विशेष प्राथमिकतामा राखेका छौँ ।’
सिक्किमवासीले पछिसम्मै याद राख्ने हिसाबले कन्सर्टको तयारी भइरहेको उनले जानकारी दिए । हिमाली राज्यको सुन्दरताको प्रवर्धन र तन्नेरी पुस्ताको मनोबल उकास्ने अवसरका हिसाबले पनि कन्सर्टलाई अघि बढाइएको उनको भनाइ छ ।
कार्यतालिका अनुसार ३१ तारिखको बेलुकी ठीक ५ बजे पाल्जोर स्टेडियमका ढोकाहरू खुला गरिनेछन् भने बेलुकी ठीक ७ बजे कन्सर्ट सुरु हुनेछ ।सिक्किममा नेपाली, भुटिया र लेप्चा लोक परम्पराबाट विकास भएका सङ्गीत आम रूपमा प्रचलित छन् । नेपालमा जस्तै मादल, सारङ्गी, डम्फु, टुङ्नादेखि नौमतीसम्मका वाद्ययन्त्रको व्यापक प्रयोग गर्ने त्यहाँको समाजले तामाङ सेलो सर्वाधिक रुचाउँछ । सिक्किमका पहाडमा पनि झ्याउरे, दोहोरी, सेलो, मारुनी, चुट्का र सोरठीजस्ता भाकाहरू गुन्जने गरेका छन् ।
‘सिक्किमका रेडियोमा बज्ने नेपथ्यका गीतहरू सुनेर प्रभावित श्रोताले पठाउने गरेका मायालु सन्देश मैले बेलाबेला पाउने गरेको छु,’ ब्यान्डका अगुवासमेत रहेका गायक अमृत भन्छन्, ‘यो पाला रङ्गशालामै आयोजना हुन लागेको कन्सर्टलाई लिएर उत्साहपूर्ण समाचारहरू प्राप्त भइरहँदा हौसला झनै बढेको छ ।’ अमृतका अनुसार नेपथ्य ब्यान्डको स्थापनालगत्तै सबैभन्दा पहिले कन्सर्टका लागि निम्तो दिनेमा सिक्किम–दार्जिलिङ भेगकै दर्शक थिए।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।
सिक्किमपछि नेपथ्य पूर्वी नेपालका दुई सहरमा प्रस्तुत हुनेछ । कात्तिक १८ मा इटहरी र कात्तिक २१ मा झापाको चारआलीमा नेपथ्यले लोकरक गुन्जाउनेछ । तिहारपछि ब्यान्डले फेरि मुलुकका चार साना तथा मझौला सहरको साङ्गीतिक यात्रा गर्नेछ । त्यसपछि नेपथ्यले डिसेम्बरमा अस्ट्रेलियाको यात्रा गर्ने छ ।








