पाँच पाण्डव गीतमा मिलन र भातृत्वको कथा

काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’सार्वजनिक भएको छ । दाजुभाइबीचको मिलन र भातृत्व दर्शाउने गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द छ ।

गीतले दाजुभाइबीचको सम्बन्ध, आपसी विश्वास र एकताको भावलाई प्रस्तुत गरेको छ । स्वर्गलोकका युधिष्ठिर धर्तिलोकमा रहेका आफ्ना भाइहरू समस्यामा परेपछि खोजी गर्दै आइपुगेको देखाइएको छ ।

गीतको भिडियोमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलालाई देखाएको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियो श्याम तामाङले खिचेका छन् । सम्पादन सुप्रिम पराजुलिले गरेका छन् । गीतको अन्तिममा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन् ।

बसन्त निरौलाको निर्देशन रहेको फिल्म काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ छिन् । फिल्ममा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।