पोर्चुगलमा नेपाल संवत् ११४७ र सामूहिक म्हः पूजा

पोर्चुगल। प्रवासमा नेपाली मौलिक संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको संरक्षण गर्ने उद्देश्यसहित पोर्चुगलमा सामूहिक म्हः पूजा तथा नेपाल संवत् ११४७ मनाइएको छ ।

पोर्चुगल नेवाः खलःको आयोजनामा गत नोभेम्बर ९ तारिख लिस्बनमा भएको कार्यक्रममा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल प्रमुख अतिथिका थिए। कार्यक्रममा राजदूतकी पत्नी रुपा पौडेल, नेपाली राजदूतावासका तृतीय सचिव अनिल राणा, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा नेपाल संवत्को ऐतिहासिक महत्त्व, राष्ट्रिय पहिचान र सांस्कृतिक गौरवबारे चर्चा गर्दै गंगाबहादुर नेम्कुलले विदेशस्थित नेपाली दूतावासहरूको आधिकारिक पत्राचार तथा प्रशासनिक कामकाजमा नेपाल संवत् प्रयोग गर्नुपर्ने मागसहितको अनुरोधपत्र राजदूत पौडेललाई हस्तान्तरण गरे ।

राजदूत पौडेलले नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली दूतावासहरूमा नेपाल संवत् प्रयोग गर्ने आवश्यक प्रक्रिया अघि बढिरहेको र तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले नेवाः भाषामै शुभकामना व्यक्त गर्दै भाषा, कला, संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक एकताको आवश्यकता औल्याए ।

पोर्चुगल नेवाः खलःका अध्यक्ष राजेश जोशीले म्हः पूजा आत्मसम्मान, आत्मचेतना र जीवनप्रतिको सकारात्मक दृष्टिकोणको प्रतीक भएको बताए। उनले राष्ट्रिय विभूति शंखधर साख्वाःको परोपकारी योगदानसँग जोडिएको नेपाल संवत्लाई कुनै एक समुदायमा सीमित नराखी सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदाका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

विदेशमा हुर्कंदै गरेको नयाँ पुस्तालाई मातृभाषा, इतिहास, कला, संस्कृति र मौलिक पहिचानसँग जोडिराख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले प्रवासमा नेपाली भाषा तथा संस्कृतिको पुस्तान्तरणमा विशेष ध्यान दिन आग्रह गरे ।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत पवनबाबु डंगोलले बाँसुरीको धुन, राजकुमार रिमाल र अनिल तुलाधरले गीत तथा आर्या तुलाधरले नृत्य प्रस्तुत गरेका थिए । दीपेन्द्र कपालीले सञ्चालन गरेको कार्यक्रममा सामूहिक म्हः पूजा र सांस्कृतिक प्रस्तुतिले उत्सवलाई थप उल्लासमय बनाएको थियो।