काठमाडौं । नेपाल र भारतका फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक भएको छ। तिहारको मौका पारेर निर्माण पक्षले ‘वर्ल्ड अफ मोनालिसा’ शीर्षकमा फिल्मको पहिलो झलकसहितको चलायमान पोस्टर सार्वजनिक गरेको हो।
पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको फिल्ममा लेखन तथा निर्देशन किङ योगीको छ । फिल्ममा चलचित्र पत्रकार सचित खड्का कार्यकारी निर्माता छन् ।
फिल्मको प्रि प्रोडक्सनको काम हाल भारतको हैदराबाद र बैंगलोरमा भइरहेको छ। फिल्मको छायाङ्कन आगामी वर्षको असार महिनादेखि सुरु गर्ने तयारी छ। फिल्मको करिब ३० प्रतिशत छायाङ्कन नेपालमा र बाँकी ७० प्रतिशत भारतमा गरिनेछ। फिल्म भारतको रामोजी फिल्म सिटीमासमेत खिचिने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारहरूको अभिनय रहनेछ। फिल्म नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन हुनेछ ।







