ककाकिकी ट्रेलरः अस्पताल बनाउन बैंक लुट्ने योजना

काठमाडौँ । फिल्म ‘ककाकिकी’को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर ११ गतेबाट रिलिज हुने फिल्मको ट्रेलर शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएकाे हाे ।

ट्रेलरमा कुलेबारी गाउँका मानिसहरु गाउँमा अस्पताल बनाउन बैंक लुट्ने योजना बनाइरहेको देख्न सकिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेललगायतलाई देख्न सकिन्छ ।

ट्रेलर रिलिज कार्यक्रममा कलाकार गौरीले आइरहेका धेरै फिल्मभन्दा केहि फरक बनाउने कोशिस गरिएको बताइन् । अर्का कलाकार शिशिरले निर्माण टिममा युवाजोश भएका साथीहरु भएकाले काम गर्दाको अनुभव राम्रो रहेको बताए । त्यस्तै कलाकार मनोजले धेरैपछि फेरी फिल्ममा जोडिन पाएको र ककाकिकी आफ्नो दोस्रो फिल्म भएको जानकारी दिए ।

फिल्मका निर्देशक बिक्की अग्रवालले फिल्मको टिजर र ट्रेलर काट्ने काम पनि आफैले गरेको र फिल्म राम्रो हुँदा अथवा जस्तोसुकै प्रतिक्रिया आउँदा आफूले नै त्यसको जिम्मेवारी लिने बताए । यो फिल्म यसअघि भदौ १९ मा आउने तयारी भइरहँदा भदौ १० मा गएको भोटेकोशीको बाढीपहिरोका कारण रिलिजको मुखैमा स्थगित भएको थियो ।

फिल्ममा बिक्कीसँगै श्रृद्धा प्रसाईंको पनि निर्देशन छ । फिल्ममा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी बिजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ ।

फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरका रुपमा विश्वास तिमल्सिना (बिटी कान्छा)ले काम गरेका छन् । सुदिप बरालको डिओपी रहेको फिल्ममा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक बिशाल राई हुन् ।

मेकअपमा अनिस तामाङ, कस्टुम डिजाइनमा सुमन परियार, प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।