हिमालयन गोल्ड ट्रेलरमा लुटेरासँग परीक्षाको टकराव

काठमाडौं । फिल्म ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशनमा निर्माण भएको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । यो फिल्म आगामी मंसिर ४ गते रिलिज हुँदैछ ।

करिब दुई मिनेटको ट्रेलरले हिमाली भेगमा यार्सागुम्बा संकलनका क्रममा हुने संघर्ष, लुटपाट, विश्वासघात र बदलाको कथा प्रस्तुत गरेको छ । ट्रेलरमा हिमाली क्षेत्रको सुन्दरता र त्यहाँको कठिन जीवनशैलीसँगै यार्सागुम्बा संकलनका लागि पुग्ने सर्वसाधारणले भोग्नुपर्ने जोखिमलाई देखाइएको छ । यार्सागुम्बालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा लोभ र पैसाका लागि मानिस कुन हदसम्म पुग्न सक्छ भन्ने विषयलाई पनि उठाइएको छ ।

ट्रेलरमा लुटेराको समूहसँग भेट भएपछि फिल्मकी प्रमुख पात्र परीक्षा लिम्बुले आफूलाई कसरी जोगाउलिन् भन्ने कथा ट्रेलरले देखाएको छ । फिल्ममा सुनील थापा, कर्मा, राहुल एन मुखियालगायत नेगेटिभ भूमिकामा छन् । फिल्ममा मेनुका प्रधान, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सेबिता अधिकारी, ऋषिकेश बस्याल र छेरिङ गोन्पोको पनि अभिनय छ ।

अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मीनबहादुर भाम, लाइन प्रोड्युसर शैलेन्द डी कार्की, सह–निर्माता सुयश ज्ञवाली र कायकारी निर्माता राजु राजवंशी रहेका छन् ।

निर्देशक राजवंशीकै कथा रहेको फिल्ममा दीपेन्द गौचन र धिराज राजवंशीको पटकथा, वशिष्ठ प्रधानको डिओपी, निमेश श्रेष्ठको सम्पादन, सजल लोप्चन र करुण थापाको भिएफएक्स छ ।

फिल्मलाई भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले भारतमा प्रदर्शन गर्ने भएको छ । ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बाहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो । मिडलइस्ट डिस्ट्रिब्युटरमा फार्स फिल्मको मोसन पिक्चर्सले गर्ने फिल्म नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ । जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट वितरक छ ।