साहोपछि विवाह गर्दै प्रभास

मुम्बई(एजेन्सी) । ‘बाहुबली’ स्टार प्रभासको विवाहलाई लिएर लामो समयदेखि चर्चा परिचर्चा भइरहेको छ । प्रभास हालको समयमा तेलुगू फिल्म उद्योगका अविवाहित अभिनेता हुन् । जो युवतीमाझ विशेष चर्चित छन् । उनको नाम बाहुबलीकी कोस्टार अनुष्का सेठ्ठीसँग जहिल्यै जोडिन्छ । तर उनले अनुष्कासँगको सम्बन्धका विषयमा झुटो समाचार बाहिर आएको बताउँदै आएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म ‘साहो’को रिलिज पछि प्रभासको परिवारले उनको विवाह अमेरिकामा बस्दै आएका एक व्यापारीकी छोरीसँग गरिदिने निर्णय लिएका छन् । तर पनि हालसम्म यो कुराको पुष्टि भइसकेको छैन ।

प्रभासका अंकल कृष्णम राजूले पनि गत वर्ष सञ्चारमाध्यममा यसै वर्ष प्रभासले विवाह गर्ने बताएका थिए । प्रभास अभिनित साहो ३० अगष्टमा रिलिज हुँदैछ ।