‘साइनोमा पारिवारिक माहौल पाएँ’

काठमाडौं । फिल्म ‘लालपुर्जा’बाट नेपाली रजतपटमा ‘डेब्यू’ गरेकी नायिका मिरुना मगर फिल्म ‘रोज’मा नायक प्रदीप खड्कासँग अभिनय गरेपछि अलिक बढी चिनिइन् । मिरुना आगामी शुक्रबारबाट दर्शकमाझ फिल्म ‘साइनो’ लिएर आउँदैछिन् ।

ग्रामीण परिवेशको चरित्रमा अभिनय गरेकी मिरुना फिल्ममा तामाङकी छोरीको भूमिकामा देखिँदैछिन् । ‘मैले धरान घरमा बस्दाखेरी नै मेरो ममीबाट संस्कार र संस्कृतिको बारेमा जानकारी पाइसकेको थिएँ’, मिरुना भन्छिन्, ‘साइनोमा काम गर्दा ममीले दिनुभएको ज्ञान काम लाग्यो । साइनोमा पारिवारिक माहौल पाएँ । सुटिङ सेटमा पुरुष भन्दा महिलाको संख्या धेरै भएकाले पनि काम गर्न सजिलो भयो ।’

फिल्मले अन्तरजातीय प्रेमकथा बोल्न भएकाले दर्शकले फिल्म हेरेपछि आफ्नो चरित्रबारे थप थाहा पाउने उनले बताइन् । नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको फिल्ममा रमेश थापाको निर्देशन छ । फिल्ममा मिरुनाका अलावा राजकुमार, नीता ढुंगाना, बसुन्धरा भुषाल, राजा राजेन्द्र पोखरेललगायतका कलाकारको अभिनय छ ।