जिग्रीको फिल्ममा को सेन्टी को भाइरस ?

काठमाडौं । टेलिशृंखला ‘भद्रगोल’का कलाकार कुमार कट्टेल तथा निर्देशक दीपक आचार्यको लेखनमा बन्न लागेको नयाँ फिल्म ‘सेन्टी भाइरस’को राजधानीमा बुधबार घोषणा गरिएको छ । फिल्मका प्रमुख कलाकारमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रहनेछन् । भाद्र ३ गतेबाट सुटिङ हुने फिल्ममा रामबाबु गुरुङको निर्देशन रहनेछ ।

सामाजिक कथाबस्तुमा व्यंग्यात्मक शैलीमा निर्माण हुने फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतको अभिनय रहनेछ । रुपाकोट र पोखरामा छायांकन हुने फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन हुनेछ ।

कलाकार धुर्मुसका अनुसार फिल्मको मुनाफाको १५ प्रतिशत चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणमा हस्तान्तरण गरिनेछ ।

फिल्ममा डिन्डु लामा ह्योल्मो निर्माता र फूर्पा लामा सहनिर्माता छन् । फिल्ममा राजनराज शिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत हुनेछ ।