काठमाडौं । आगामी मंसीर ६ गते रिलिज हुने फिल्म ‘च च हुई’को मुस्ताङको चुसाङमा छायांकन गरिएको ‘सिल्की सिल्की बाल’ बोलको गीतका तस्बिरहरु निर्माण पक्षले सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन ।
झन्डै एक साता लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । निर्माण पक्ष यस गीतलाई केहि दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको छ । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।
फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्ममार्फत निर्माणमा आउँदैछन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ ।
फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुसन प्रजापतिको छायांकन रहेको छ । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।