प्रभासको साहोलाई चोरीको आरोप

मुम्बई(एजेन्सी) । एक्सन थ्रिलर र मल्टीस्टारर फिल्म ‘साहो’ शुक्रबारबाट १० हजार स्क्रिनमा एकसाथ प्रदर्शनमा आयो । तर यो फिल्म रिलिज हुनासाथ समस्यामा परेको छ । यो फिल्मको धेरै स्थानमा मर्निङ शो क्यान्सिल भएको छ । योसँगै फिल्मका निर्मातालाई एक आर्टिस्टले आफ्नो कला चोरेको आरोप लगाएका छन् ।

समाचार अनुसार उत्तर भारतको कैयौं ठूला सिनेमा चेन्समा दुई हजार प्रिन्टको ढिलो वितरणका कारण मर्निङ शो नै क्यान्सिल गर्नुप¥यो । यो समस्या फिल्मको हिन्दी भर्सनमा देखियो । जसकारण टिकट बुक गरिसकेका दर्शक निरास भएका थिए । यसको ठूलो घाटा प्रदर्शकले व्यहोर्नुपर्यो । बक्स अफिस इण्डियाको रिपोर्ट अनुसार फिल्मको हिन्दी भर्सनको प्रिसेल्स कमाई करिब ८ दशमलब ५० करोड रुपैंयाँ थियो ।

फिल्मका निर्मातालाई बेङ्लोरका एक आर्टिस्टले उनको आर्टवर्क चोरीको आरोप पनि लगाएका छन् । कन्टेम्पोररी आर्टिस्ट शिलो शवि सुलेमानले हालै मात्र आफ्नो इन्स्टाग्राम एकाउन्टमा आर्टवकको तस्बिर राखेका छन् ।

उनले उक्त आर्टवर्क सन् २०१४ मा भएको प्रख्यात बर्निङ मैन फेस्टिबलमा राखिएको उल्लेख गरेका छन् । उनले फिल्मका निर्माताले विना अनुमति उनको सिर्जना ‘प्लस एण्डन ब्लूम’लाई साहोको गीतमा प्रयोग गरिएको आरोप लगाएका छन् ।