काठमाडौं । फिल्म ‘मारुनी’ले शुक्रबारको तुलानामा शनिबार केही आशालाग्दो व्यापार गरेको छ । राजधानीको मल्टिप्लेक्सका केही शोजमा फिल्मको अकुपेन्सी ९० प्रतिशतसम्म रहँदा चाबहिलको गोपिकृष्ण हलमा फिल्म हेर्ने दर्शकको उपस्थिती बाक्लो थियो ।
गोपिकृष्णमा उपस्थित दर्शकसँग साक्षात्कार गर्न नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, नायिका रेविका गुरुङ, निर्मात्री पूनम गौतम, निर्देशक नवल नेपाल लगायत पुगेका थिए । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूलाई आफूले गरेको मिहिनेत सार्थक लागेको बताइन् ।
नायक पुष्प खड्काले पनि दर्शकको माया पाएको भन्दै खुशी व्यक्त गरे । निर्मात्री पूनम गौतमले शनिबार फिल्मको व्यापारले आफू उत्साहित भएको र सकारात्मक वर्ड अफ माउथले आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त रहेको बताइन् ।
फिल्म हेर्न हल पुगेका दर्शकले यसको कथावस्तु, प्रस्तुति, क्लाइमेक्सको दृश्य र सस्पेन्स पाटोलाई मन पराएका छन् । एक फरक कथामा फिल्म बनेको भन्दै दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन् ।