नेपालबाट ओस्कारमा बुलबुल निर्विरोध सिफारिस

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइसेन्सद्वारा सन् २०२० मा घोषणा गरिने ९२औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपाली फिल्म ‘बुलबुल’ प्रतिष्पर्धीका लागि सिफारिस भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिको बुधबार बसेको बैठकले विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’लाई सिफारिस गरेको हो ।

समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगष्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका फिल्महरुलाई सहभागिताका लागि आह्वान गरेको थियो । समितिले तोकेको मितिमा ‘बुलबुल’ मात्र सहभागी भएको थियो । ‘बुलबुल’ले सन् २०२० फेब्रुअरी ९ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९२औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका फिल्महरूसँग प्रतिस्पर्धा गर्नेछ ।

विमल पौडेलको अध्यक्षतामा रहेको समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली ‘कपील’, सामीप्यराज तिमल्सेना सदस्य छन् भने सचिवमा चिरञ्जीवी गुरागाईं छन् ।