एलिसाले चोरिन् पलको दिल

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘दिल चोर्ने माकुरी’ अर्थात् मखमली चोली २ बोलको गीत सार्वजनिक गरिएको हो ।

मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली २ तयार गरेको हो । मखमली चोली बोलको गीतले युट्युबमा ६५ लाख बढि भ्युज पार गरिसकेको छ ।  दिल चोर्ने माकुरी बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ । गीतमा दील चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ । गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताउँछिन् । गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन् ।

शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन् । निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन उडाएका छन् ।