रोमान्टिक फिल्म छाड्दै शाहरुख

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र निर्देशक अली अब्बाज जफरको सम्बन्ध कहीँकतै लुकेको छैन । यो जोडीले ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’ र ‘भारत’ जस्ता सुपरहिट फिल्म बक्स अफिसमा दिइसकेको छ । यही बीचमा बलिउडका अर्का अभिनेता शाहरुख खानको नजरमा निर्देशक अली यतिबेला परेका छन् ।

खबर अनुसार लामो समयदेखि एक हिट फिल्मको प्रतिक्षामा रहेका शाहरुख चाँडै नै अलीको नयाँ फिल्ममा देखिँदैछन् । यो समाचारसँगै शाहरुखका फ्यानका लागि शाहरुखको नयाँ फिल्म कहिले आउनेछ भन्ने पर्खाईले पनि विश्राम पाएको छ । शाहरुखले दुई ठूला फिल्मका लागि अभिनयको अनुमति दिइसकेका छन् ।

दुबै फिल्म आगामी वर्ष सुटिङमा जानेछ । दुवै फिल्ममध्ये एक फिल्म यशराज ब्यानरमा बन्नेछ । जसले फिल्म उद्योगमा आफ्नो ५० वर्ष पुरा गर्दैछ । निर्देशक अली हाल फिल्मको स्क्रिप्टको काममा व्यस्त छन् ।

यो फिल्म यशराजको ब्यानरमा हालसम्म बनेको सबैभन्दा ठूलो एक्सन फिल्म हुनेछ । जसको घोषणा आगामी नयाँ वर्षको शुरुवाती समयमा नै गरिनेछ । शाहरुखले सन् १९९३ मा यशराजको व्यानरमा आफ्नो पहिलो फिल्म ‘डर’मा काम गरेका थिए । हालै मात्र शाहरुखले अष्ट्रेलियमा आफूले एक्सन फिल्म गर्न चाहेको बताएका थिए । तर यशराज व्यानरले यो विषयमा केही बोलेको छैन ।