नोभेम्बरमा टोकियोमा सूर्य अवार्ड

काठमाडौं । जापानको टोकियोमा आगामी नोभेम्बरमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ को दोस्रो संस्करणको तयारी आयोजकले शुरु गरेको छ । राजधानीमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजक सुर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष बासुदेव लामिछानेले अभिनय, गायन, नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने बताए ।

कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । केहि दिनमा नोमिनेशन सार्वजनिक गरिने र नोमिनेशनमा परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने जानकारी गराइयो । अवार्डमा गत वर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन् ।

पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्ड समारोहमा दुई दशक लामो फिल्मीयात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मीयात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।