नेपाल आइडललाई विश्व घुमाउँदै गृष्मा

काठमाडौं । गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वल्र्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ ।

‘हामी अत्यन्त उत्साहित छौं कि हामी नेपाल आइडलसँग जोडिएका छौ’, गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्रले हस्ताक्षर गरिसकेपछि भने । उनले टप ३ लाई विदेशमा रहेका हरेक नेपाली समक्ष पुर्याउने समेत बताए । उनीहरूलाई एक वर्षसम्मको सम्पूर्ण दायित्वलाई गृष्मा ब्रोडकास्टिङले बहन गर्नेछ । तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिनालेसँगै टप ३ लाई गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउँदा आफुहरु खुसि रहेको पौडेलले बताए । गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ ।

पछिल्लो समय जापानमा ‘साकुरा नाइट’ गर्दै आएको यस कम्पनिले नेपालमा ‘सप्तरंग’को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ । यसैगरी गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन २ काविजयी टोलीलाई मुनलाइट्स रेकर्डस्सँगको सहकार्यमा अमेरिकामा टुर समेत गर्दैछ । नेपाल आइडलले आफु जस्तै धेरैको सपनालाई साकार बनाएको दोस्रो सिजनकी अस्मिता अधिकारीले बताइन । गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन ३ को वर्ल्ड टुर आउँदो सन् २०२० को फेब्रुअरीबाट सुरु गर्नेछ ।