पोइ पर्यो कालेमा गुन्जिए प्रेम परियार

काठमाडौं । गायक प्रेम परियार नेपाली फिल्मका लागि नौलो नाम होइन । फिल्म ‘नाई नभन्नु ल २’मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत चर्चामा आएका गायक त्यसपछि मिडियामा निकै छाए ।

निर्देशक विकासराज आचार्य र संगीतकार बसन्त सापकोटाले फिल्मी गायनमा अवसर दिएर चर्चामा आएका प्रेम पछिल्लोपटक फिल्म ‘नाई नभन्नु ल ४’ सुनिए । अब भने यी गायक फिल्म ‘पोई पर्यो काले’मा गुन्जिएका छन् । फिल्ममा समावेश ‘मायाले मलाई’ बोलको गीतको रेकडिङ गरिएको छ ।

गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए । रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । गीतमा फिल्मका मुख्य दुई कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

फिल्ममा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका छ । फिल्म कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । कमेडी जनरामा निर्माण भएको यो फिल्मले श्रीमान् ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतारचढावको कथालाई प्रस्तुत गर्नेछ ।