काठमाडौं । दशैंको शुभारम्भ अर्थात् घटस्थापनाको अवसर पारेर फिल्म ‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । यसअघि ‘सिल्की सिल्की’ बोलको गीत सार्वजनिक भएको थियो । नयाँ गीतमा आर्यन सिग्देल र एलिशा शर्मा फिचर्ड छन् । केहि दिन अगाडी बालाजु स्थित एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको थियो ।
शिशिर खातीको कोरियोग्राफीमा तयार गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द तथा रोशन थापाको संगीत छ । लुटको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ दिएकी छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा निर्देशन र सम्पादन साम्तेनको रहेको छ ।
फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अमृत घोले लामाको लगानी छ । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।
फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।