सेल्फी किङलाई विदेशमा उच्च प्राथमिकता

काठमाडौं । फ्लोरमा रहेको फिल्म ‘सेल्फी किंग’को विदेश राइटको माग बढेको छ । निर्माता सुभाष थापाका अनुसार अष्ट्रेलियाका लागि ‘प्रसाद’प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेण्टले नै ‘सेल्फी किङ’को प्रदर्शन अधिकार खरिद गरेको छ । गोर्खेले २५ लाख रुपैयाँमा अष्ट्रेलियाको प्रदर्शन राइटस् खरिद गरेको हो ।

यस्तै युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हंङकंङ, मलेसियालगायतका देशबाट पनि चलचित्रको प्रदर्शन राइट्स् खरिदको लागि बाक्लो प्रस्तावहरु आइरहेको थापाले बताए । जसमध्ये अधिकांश देशमा ‘प्रसाद’का वितरकहरु नै ‘सेल्फी किंग’ खरिदका लागि इच्छुक देखिएका छन् । उनका अनुसार केही दिनमै अन्य देशका वितरकसँग प्रदर्शनको लागि सम्झौता हुनेछ ।

दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको फिल्मले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा देखाउनेछ । फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरिरहेका छन् । फिल्ममा विपिन कार्की,लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मललामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पौडेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।

फिल्ममा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । फिल्मत्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।