एकल गायनमा गुञ्जिए बलराम

काठमाडौं । गायक, सङ्गीतकार तथा बरिष्ठ वासुरी बाधक बलराम समाल एकल गायनमा गुञ्जिएका छन् । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा शनिबार भएको एकल गायनमा उनी गुञ्जिएका हुन् ।  राष्ट्रिय साँस्कृतिक संस्थान नाचघरका पूर्व महाप्रवन्धक राजेश थापा मगरको प्रमुख आतिथ्यतामा भएको एकल गायनमा बलरामलाई बाध्यबाधनमा रुपेश सिंह, सुरज श्रेष्ठ, आकाश गोर्खाली, राहुल भुजेल, कुन्दन शाह र अनिल मगरले साथ दिएका थिए भने साउण्डमा छिरिङ भुटिया रहेका थिए ।

गोपाल योञ्जनको राष्ट्रिय गीत ‘देशले रगत मागे…’बाट एकल गायनको दैलो उघारेका बलरामले आफ्नै गीत ‘तिमी दुलही बनेर जादा…’, ‘ढुङ्गाको मुटु…’ फत्तेमान राजभण्डारीको ‘यस्तो पनि हुँदो रहेछ…’, भक्तराज आचार्यको ‘हजार सपनाको…’, शंकर प्रेरणको ‘सोचे जस्तो जिन्दगी हुन्न..’, ‘रेशमैको पछ्यौरीले लग्यो मेरो मन…’ नारायण गोपालको ‘यति चोखो यति मिठो दिउला तिम्ला माया…’, अरुणा थापाको ‘चोट के हो…’ र आफ्नै दुई पूर्वेली लोक गीत ‘लामपाते सुर्ती…’ र ‘सम्झ मनैमा…’लगायतका गीत प्रस्तुत गरेका थिए । ‘एकान्तको गधुलीमा…’ गीतमा बलरामलाई गायिका कमला थापा मगरले साथ दिएकी थिइन ।

गीतकार शंकर प्रेरण, नेपाल साँस्कृतिक मगर संघका अध्यक्ष कविराज थापा, सङ्गीतर वसन्त मुकारुङ, शिसु मिलन स्कुलका बुद्ध गोले, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, गायक सुमन खड्का, गीतकार विजय कटेल, मेजर नवीन मुकारुङ, गायिका सरोजा मुकारुङ, अञ्जु गौतम, निला थापा, रमिला मगरलगायतका अतिथिहरु रहेको कार्यक्रम बलरामले एक दर्जन भन्दा बढी गीत मार्फत उपस्थित स्रोता÷दर्शकको वाही वाही वटुल्न सफल भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राजेश थापा मगरले सबैप्रकारका गीत गाउन सक्ने क्षमता बलाराममा रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए भने बलरामले आउँदा दिनमा पनि सबैको साथ सहयोगको अपेक्षा आफूले राखेको बताए ।