अमिताभले पाए दादसाहेब फाल्के अवार्ड

मुम्बई(एजेन्सी) । बलिउडका महानायक अमिताभ बच्चनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले आइतबार दादासाहेब फाल्के अवार्डबाट सम्मान गरेका छन् । अमिताभले पुरस्कार पाएपछि भारत सरकारसँगै देशका जनताप्रति धन्यवाद व्यक्त गरे । अमिताभले आफू भारतकै जनताको मायाका कारण यो स्थानमा पुगेको बताए ।

‘भारतका राष्ट्रपति रामनाथ कोविन्द जी, सूचना एवं प्रसारण मन्त्री प्रकाश जावडेकरजी, मलाई यो सम्मानको लायन सम्झिएकोमा धन्यवाद । फिल्म उद्योगका निर्माता र निर्देशकको सधैं साथ पाइरहेको छु । तर यो भन्दा पनि बढी भारतीय जनता मेरो साथमा छन् । दादासाहेब फाल्के पुरस्कारको स्थापनाको ५० वर्ष भयो । यति नै वर्ष मैले पनि यो उद्योगमा बिताएँ’, अमिताभले भनेका छन् ।

उनले आफूलाई पुरस्कार दिने निर्णय गर्दा आफैंले अब घरमै आराम गर्न सल्लाह दिए जस्तो लागेको स्मरण गरे । ‘तर अझैं मैले धेरै गर्न बाँकी छ । जुन कामको सम्भावना पनि धेरै छ’, उनले भनेका छन् । अमिताभको कुरा गरौं त उनले सन् १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’बाट अभिनय यात्रा शुरु गरेका थिए ।

करियरको शुरुवातमा उनले केही असफलता पनि पाए । तर सन् १९७३ मा रिलिज फिल्म ‘जन्जीर’ उनको करियरको टर्निङ प्वाइन्ट बन्यो । यो फिल्मबाट उनलाई बलिउडमा एंग्री योङ मेनको रुपमा स्थापित गरायो । यो फिल्मपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।