भरतलाल र पुष्करलालका नाममा अवार्ड

काठमाडौं । समाजसेवी तथा व्यवसायी स्व. भरतलाल श्रेष्ठ र पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्सले सम्मान अवार्ड स्थापना गरेको छ । अवार्ड यही पुस १९ गते सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीमा हुने गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ समारोहमा प्रदान गरिने छ । भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा पुष्करलाल मिडिया अवार्ड क्रमशः समाज सेवा र नेपाली मिडियाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरुलाई प्रदान गरिने छ ।

भरतलाल श्रेष्ठ तथा पुष्करलाल श्रेष्ठ नाताले पिता–पुत्र हुन् । लायन्स क्लबलगायतका समाजसेवी संस्थामा रहेर आजीवन सेवा पु¥याएका भरतलाल २०७२ सालमा दिवंगत भए भने कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा मिडिया उद्यमी एवम् सिर्जनशील पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्षको गत वैशाख ४ गते निधन भएको थियो । भरतलाल पहिलो नेपाली फिल्म अवार्डका प्रणेता तथा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर थिए भने पुष्करलाल निजी क्षेत्रमा प्रकाशन गृह तथा मिडिया समूह सञ्चालन गरेर खासगरी छापा माध्यममा योगदान दिएका थिए ।

भरतलाल ह्युम्यानिटेरियन अवार्ड पाउनेहरुमा समाजसेवामा निरन्तर लागिरहेका एवम् मानवीय कार्यमा समर्पित व्यक्तित्व हुनेछन् । त्यसैगरी, पुष्करलाल मिडिया अवार्डका हकदारहरुमा नेपाली मिडिया क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका तथा नेपाली सञ्चार क्षेत्रमा स्वदेशी पूँजी, श्रम र सोचको सम्मान र प्रवद्र्धन गर्दै यस क्षेत्रमा विशिष्ट योगदान दिएका मिडियाकर्मी हुनेछन् । मिडियाकर्मीभित्र सञ्चार उद्यमी तथा प्रकाशन, प्रसारण, अनलाइन, फोटो पत्रकारिता, व्यंग्यचित्र कलाकारिता लगायतका विधामा समर्पित पत्रकारलाई समेटिने पनि जानकारी गराइन्छ ।

दुवै स्मृति अवार्डका लागि प्रशंसायुक्त ताम्रपत्रका साथ एक–एक लाख रुपियाँ प्रदान गरिनेछ । अवार्ड पाउने व्यक्तित्वको नाम सम्मान समारोहमै घोषणा गरिने छ ।