ऐतिहासिक घरमाथि डकुमेन्ट्री फिल्म

काठमाडौं । पूर्वको मोरङ उर्लाबारीबाट १३ किमि उत्तरमा एउटा पहाडी थुम्को छ । यही थुम्कोमुनि एउटा पुरानो घर देखिन्छ, जहाँ कुनै समय राष्ट्रपति विद्या भण्डारी, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, पूर्वउप–प्रधानमन्त्री भरतमोहन अधिकारीदेखि नेता मदन भण्डारीसम्मले लामो समय बिताएका थिए ।  पञ्चायतको अनुदार समयमा नेताहरूले भूमिगत सेल्टर बनाएको यो घर यतिबेला बेवारिस छ । यही ऐतिहासिक घरको नालीबेली र हालको अवस्थिति समेटेर साहित्यकार अनिल पौडेलले डकुमेन्ट्री फिल्म बनाएका छन– ‘एउटा घरको कथा ।

मिक्लाजुङ गाउँपालिकाको टाँडी ढुम्केस्थित जंगल छेउ रहेको यो घर हो, तिलबहादुर राईको । मुलुकमा प्रजातन्त्र ल्याउन किसान आन्दोलनमार्फत सक्रिय राईको यो घरका भित्ताभित्र भूमिगत खोपाहरू देखिन्छ, जहाँ नेताहरूले पढ्ने प्रतिबन्धित पुस्तकहरू अहिले पनि भेटिन्छन । भूमिगत बस्दा पिसाब फेर्ने बाँसको ढुंग्रो, नेताहरूले प्रयोग गरेका गुन्द्री, खाटदेखि गीत गाउन प्रयोग गरिएका सारंगी र विनायोजस्ता बाजाहरू पनि असरल्ल छन् ।

केही जलेका, केही च्यात्तिएका त केही माकुराको जालोमा बेरिएका पुस्तकहरू निकै ऐतिहासिक लाग्छन् । हस्तलिखित डायरीमा झलकमान गन्धर्वदेखि पुराना ‘जनताका गीतहरू’ सम्म भेटिन्छन् । ‘तीन वर्षअघि तिलबहादुरको निधन भएपछि यी सबै सामग्री अभिभावकविहीन बनेका हुन्’ डकुमेन्ट्रीको परिकल्पनाकार एवं निर्माता पौडेलले भने, ‘मुलुक हाँक्ने ठूला मान्छेहरूलाई संरक्षण गरेको यो घर आज आफैंमा जीर्ण र एकान्तिक बनेको छ ।’

काठको भरपुर प्रयोग गरेर बनाइएको घरमा अहिले कोही छैन । पति बितेपछि पत्नी मनमाया राई छोरीको घर बस्दै आएकी छन् । ‘मदन भण्डारीको पत्नी लामो समय यहीँ बस्नुभएको थियो,’ डकुमेन्ट्रीमा मनमायाले सोझो लवजमा भनेकी छन् ‘लामो समय छोरी निशाको लालनपालन पनि यहीँ भएको थियो ।’ आफूले पञ्चायतको सुराकी र सुरक्षाकर्मीको खतराबाट बचाउँदै खाना पकाएर दिएका नेताहरू ठूलो मान्छे भएको समाचार टीभीमा आउँदा ‘बोलौं बोलौंझैं लाग्ने’ प्रतिक्रिया पनि दिएकी छन् मनमायाले ।

साहित्यकार पौडेलका अनुसार २०२६ सालदेखि नै मनमोहन अधिकारी र भरतमोहन अधिकारीहरूले यो घरलाई सेल्टरको रूपमा प्रयोग गर्न थालेका थिए । कालान्तरमा यो घर ‘पार्टीघर’ कै रूपमा चिनियो । ‘२०४६ को परिवर्तनसम्म यो घर चेतनाको विश्वविद्यालयजस्तै थियो,’ पौडेलले भने, ‘अध्ययन, बहस र प्रशिक्षणहरू हुन्थे ।’ हालै मोरङको बेलबारीमा सार्वजनिक प्रदर्शनीसमेत गरिएको डकुमेन्ट्रीमा नेता गुरु बरालले दक्षिणतिरको गाउँमा किसान विद्रोह हुँदा बन्दुक लुकाउने थलो पनि यही घर भएको बताएका छन् । डकुमेन्ट्री बनाउने क्रममा उक्त घर पुगेका पौडेलले घरका भित्ता कोतरेर थुप्रै पुराना पुस्तक निकालेपछि तिलबहादुरकी बुहारी चन्द्रकला राईले भनेकी छन् ‘१६ वर्ष भयो बिहे भएर आएको, यो घरको भित्तामा पुस्तक छन् भन्ने थाहै थिएन ।’

आफ्ना आठ सन्तानलाई पनि राजनीतिक जागरणमै लगाएका तिलबहादुरकी नातिनी सरला राई मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष छिन । डकुमेन्ट्रीमा साइँली छोरी विद्या चाम्लिङले गीत गाउँदै पुराना दिन सम्झेकी छन्– ‘लाहुरे दाइले नौ डाँडा काटेको, कसले देख्छ कलेजो फाटेको…।’ मुलुकको राजनीतिक परिवर्तनको साक्षीको रूपमा रहेको घरलाई संरक्षण र प्रबर्द्धन गर्नुपर्ने डकुमेन्ट्री निर्देशक पौडेलले बताए ।