को बन्ला हाम्रो सेल्फी किङ ?

काठमाडौं । विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्म चर्चामा छ । फिल्ममा उनी ‘सेल्फी किङ’ बनेका छन् । टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा देखिएका विपिनको तीन दिनको कथा फिल्ममा उतारिएको छ । ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकार एउटा कार्यक्रममा पुगेर फर्किदाको अवस्थालाई फिल्ममा देखाइएको छ । ओखलढुङ्गामा आफ्नो प्रस्तुती दिन जाने क्रममा ‘सेल्फी किङ’ उर्फ विपिनको जीवनमा आउने उतारचढावमा फिल्म केन्द्रित छ ।

आगामी माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्मले नेपालको पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा ’हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको छ । ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्नेछन् । त्यसरी पोष्ट गरिएको सेल्फीमा सहभागीहरुले विभिन्न मेकअपको प्रयोग समेत गर्न सक्नेछन् । पोष्ट गरिएका सेल्फीहरु मध्य विजेता छनौट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइनेछ ।

त्यसरी खिचिएका तस्वीरहरुमा आएका अत्याधिक लाइक र कमेन्टसँगै ’सेल्फी किङ’ निर्माण टिमले विजेता छनौट गर्नेछ । माघ ५ देखि माघ २० सम्म सहभागिता जनाउन सकिने यस प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिनेछ । यस प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ ।

यस प्रतियोगिताले ’सेल्फी किङ’ झैँ कलाकार बन्ने सपना बोकेको व्यक्तिलाई सहयोग गर्नेमा फिल्मका निर्माता दिनेश राउत विश्वस्त छन् । आफ्ना प्रयोगकर्तालाई यसले फाईदा पुर्याउने र नेपाली फिल्मको प्रवर्धनमा पनि टेवा पुग्ने भएकोले यस प्रतियोगितालाई अगाडी ल्याइएको हाम्रो पात्रोका एमडी सन्तोष देवकोटाले बताए । विशाल सापकोटाले निर्देशन गरेको फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ । दिनेश राउत र सुवास थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।


प्रतियोगितामा सहभागी हुन् यहाँ क्लिक गर्नुस्